दोलखा । दोलखामा बागमती प्रदेश अन्र्तगतको पूर्वाधार विकास कार्यालय स्थापना भएको छ । बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले सदरमुकाम चरिकोटमा विभागीय कार्यालय स्थापना गरेको हो ।
मन्त्रालयले दोलखामा पूर्वाधार विकास कार्यालय स्थापना गरेसँगै कार्यालय प्रमुखको जिम्मेवारी हरीप्रसाद ओझालाई दिएको छ । कार्यालयमा १२ जना कर्मचारीको दरबन्दी कायम गरिएको छ ।
यसअघि जिल्लामा पूर्वाधार विकास कार्यालय नहुँदा हिमाली जिल्ला दोलखाका स्थानीयले सास्ती व्यहोर्दै आएका थिए । जिल्लाका नागरिकहरुले विकास निर्माणसँग सम्बन्धित कामका लागि सिन्धुपाल्चोक धाउनुपर्ने बाध्यता रहेको थियो ।
जिल्लाका सेवाग्राहीहरु सिन्धुपाल्चोकको चौतारास्थित पूर्वाधार विकास कार्यालयले नै सेवा प्रवाह गर्ने गरेकाले सडक, पुल, लगाएत विकास निर्माणसँग सम्बन्धित कामका लागि सेवाग्राही सिन्धुपाल्चोक पुग्नुपरेको थियो ।
दोलखाका सांसद र जनप्रतिनिधिहरुले जिल्लामै प्रदेशका कार्यालय स्थापना गर्न माग गर्दै आएका थिए । यसअघि सदरमुकाम चरिकोटमा प्रदेशको पूर्वाधार विकास कार्यालयको सम्पर्क कार्यालय मात्रै रहेको थियो ।