काठमाडौँ । नेपाल बौद्ध महासंघको अध्यक्षमा नोर्बु थुन्डु शेर्पा (गेशे थुप्तेन जिम्बा) निर्वाचित हुनु भएको छ । बौद्ध महासंघको विहीबार सम्पन्न सातौ महाधिवेशनले अध्यक्षमा नोर्बु थुन्डु शेर्पा(गेशे थुप्तेन जिम्बा)सहित १३ सदस्सीय नयाँ कार्यसमिति निर्वाचित गरेको हो ।
बौद्धधर्मालम्वीहरुको एक मात्र साझा धार्मिक संस्था महासंघको निर्वाचित कार्य समितिमा उपाध्यक्ष ग्युर्मे सोनाम तामाङ, महासचिव पेमा दोर्जे तामाङ, सचिव छिरीङ झाङमो लामा, कोषाध्यक्ष पेमा दोन्देन गुरुङ रहनु भएको छ । महासंघको कार्यसमिति सदस्यमा पासाङ दोर्जे लामा, मिङ्मार मगर, धोङाग तेन्जिन लामा, छोवाङ तामाङ, टसी ढोइमा लामा, गेलु शेर्पा, ढोमा गुरुङ, कारसाङ ङेरुप तामाङ र २७ जना साधारण सदस्यमा निर्विरोध निर्वाचित भएको निर्वाचन मण्डलका संयोजक आचार्य नुर्बु शेर्पाले जानकारी दिनु भयो ।
कार्यक्रममा संघीयता, सबलीकरण र राष्ट्रिय सरोकार समितिका सभापति सोनाम गेल्जेन शेर्पा, प्रतिनिधि सभा सदस्य छिरिङ ल्हामु लामा, बागमती प्रदेश सभा सदस्य र पूर्वमन्त्री याङकीला शेर्पा, संविधानसभाका पूर्वसदस्य एवं नेपाल बौद्ध महासंघका वरिष्ठ सल्लाहकार जिप छिरिङ लामा शेर्पा, शिक्षाविद् प्रा.डा. विद्यानाथ कोइराला उपस्थित हुनुभएको थियो ।
सो कार्यक्रममा सोलुदुधकुण्ड नगरका नगरप्रमुख नाम्गेल जाङबु शेर्पा, ओखलढुङ्गा, खिजिदेम्बा गाउँपालिकाका अध्यक्ष गोम्बु शेर्पा, चुमनुर्बी गाउँपालिकाका अध्यक्ष ङिमा लामा, नेपाल परम्परागत बौद्ध धर्म संघका अध्यक्ष प्रा.डा. नरेशमान बज्राचार्य, अखिल नेपाल भिक्षु महासंघका सचिव भिक्षु निग्रोध महास्थाविर, नेपालका चारै परम्परा (ञिङमा, काग्यु, साक्य र गेलुग)का अध्यक्ष र प्रतिनिधिहरू लगायत विभिन्न गोन्पा र संघ संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
कार्यक्रमका अध्यक्ष खेन्पो कमल भण्डारीले दुई वर्षे कार्यकालमा सहयोग गर्नुहुने र महाधिवेशनमा सहभागी सबैलाई धन्यवाद व्यक्त गर्नुभयो । अध्यक्ष भण्डारीले महासंघको वार्षिक कार्यक्रमलाई निरन्तरता दिँदै बौद्ध गोन्पा शिक्षा, वातावरण तथा वन्यजन्तु, बौद्ध धर्म, दर्शन, संस्कृति क्षेत्रमा योजना बनाएर अघि बढ्नु पर्ने बताउनुभयो।
कार्यक्रममा महासचिव टिम्बर सिङगी लामा (खेन्पो कर्मा लेग्जीन छ्योटक)ले संस्थाको कार्य प्रगति विवरण र कोषाध्यक्ष लोपोन पेमा दोर्जे तामाङले आय र व्याय विवरण प्रस्तुत गर्नुभयो । कार्यक्रममा राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ अनुसार गोन्पा शिक्षाको आधारभूत तह (कक्षा १–५) को पाठ्यपुस्तक लेखनमा योगदान पुर्याउनुहुने सहयोगीहरुलाई सम्मान समेत गरेको थियो ।
त्यसैगरी, निर्वाचित नयाँ कार्यसमितिहरूलाई बौद्ध परम्पराअनुसार नेपाल बौद्ध महासंघका संस्थापक अध्यक्ष तथा सल्लाहकार खेन्पो ग्युर्मी छुल्ठीमले शपथ ग्रहण गराउनु भई प्रमाणपत्र वितरण गर्नुभयो । महाधिबेशनमा देशभरिका विभिन्न गुम्बा तथा बुद्धिष्ट संघसंस्थाहरुबाट १ सय ४५ जना प्रतिनीधिहरु सहभागी थियो ।