काठमाडौं । गुरुङ फिल्म एशोसिएशन अफ नेपाल जिफानले भवन निर्माणका लागि जग्गा खरिद गरेको छ । पोखरा उपमहानगरपालिका वडा नम्बर १४ मा जिफानले भवन निर्माण गर्नको लागि जग्गा खरिद गरेको हो ।
जग्गा खरिद गर्ने पहिलो चरणको कामसँगै भवन निर्माणको योजना पनि जोडिएर आएको जिफानका अध्यक्ष गुञ्जबहादुर गुरुङले बताउनु भयो । हालका लागि तीनकोठे अस्थायी संरचना निर्माण गर्ने उहाँले बताउनु भयो । भवन निर्माणका लागि युके, जापान, अष्ट्रेलिया, हङकङ, अमेरिकालगायतका विभिन्न मुलुकमा रहेका केही दाताहरुले सहयोगको बचन दिइसक्नु भएको उहाँले जानकारी दिनु भयो ।
जिफानको आफ्नै आन्तरिक श्रोत र स्वदेश तथा विदेशमा रहेका दाताहरुबाट प्राप्त आर्थिक सहयोगबाट भवन निर्माण सम्पन्न गर्ने जिफानको लक्ष्य रहेको अध्यक्ष गुरुङले बताउनु भयो । स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण तमू अर्थात गुरुङ चलचित्रकर्मीहरुको साझा संगठनको रुपमा स्थापित गुरुङ फिल्म एशोसिएशन नेपाल जिफान २०६५ सालमा विधिवत रुपमा दर्ता भइ स्थापना भएको थियो ।
गुरुङ भाषा, संस्कार र संस्कृतिमा आधारित चलचित्रहरु निर्माण गर्ने गतिविधिहरु भने २०५२ सालदेखि नै सुरु भएको थियो । जिफानमा आवद्ध गुरुङ चलचित्रकर्मीहरुले हालसम्म १९० भन्दा बढी गुरुङ चलचित्रहरु निर्माण गरिसकेका छन ।