काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचनमा पार्टीले एक्लै उम्मेदवारी दिने बताउनुभएको छ ।
नेकपा माओवादी केन्द्र दोलखा–काठमाडौँ सम्पर्क समन्वय समितिले शनिबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले आगामी मंसिरमा हुने उपनिर्वाचन र २०८४ को निर्वाचनमा आफ्नो पार्टीले सबै तहमा एक्लै उम्मेदवारी दिने बताउनु भयो ।
निर्वाचन आयोगले आगामी मंसिर १६ गते देशभर रिक्त रहेको स्थानीय तहमा उपनिर्वाचनको घोषणा गरिसकेको छ । त्यसक्रममा अध्यक्ष दाहालले गौरीशंरकरमा हुने उपाध्यक्ष पदको उपनिर्वाचनमा माओवादी एक्लैले उम्मेदवार दिने र चुनाव जित्ने गरि तयारी गर्न आग्रह गरे ।
अध्यक्ष दाहालले विगतमा कहिले कांग्रेस र कहिले एमालेसँग गठबन्धन गरेर चुनाव लड्दा माओवादीको पहिचान नै कमजोर हुन पुगेको भन्दै अब देशब्यापीरुपमा एकल प्रतिस्पर्धामा जाने बताउनुभयो । त्यसको सुरुवात आगामी मङ्सिरमा हुने उपनिर्वाचनबाट गरिने उहाँको भनाई छ ।
पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष दाहालले जनताको सेवा गर्न सरकारमा रहने वा नरहने कुराले अर्थ नराख्ने भन्दै उहाँले अहिले सरकार कहाँ छ भनेर जनताले नभेटाइरहेको बेला आफ्नो पार्टीले अग्रपङ्क्तिमा रहेर नेतृत्व गरिरहेको जानकारी दिनुभयो ।
साथै, अध्यक्ष प्रचण्डले जनताको सेवामा लाग्न आग्रह गर्दै विपद्को बेलामा स्वयंसेवामा खटिन कार्यकर्तालाई निर्देश समेत दिनुभएको छ ।
त्यसैगरी, अन्तक्रिया कार्यक्रममा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवम् प्रवक्ता अग्नी सापकोटा, प्रतिनिधिसभा सांसद एवम् पार्टी पोलिटव्युरो सदस्य गंगा कार्की विश्व, नेताहरु मुक्तिनारायण प्रधान, देवी खड्का, शंकर लामा, विशाल खड्का, गौरीशंकर पालिका अध्यक्ष विश्वास कार्की लगाएतका नेताहरुको सहभागिता रहेको थियो ।