काठमाडौं । सुनकोशी नदीमा सिन्धुली र रामेछाप जिल्ला जोड्ने खुर्कोटमा नेपाली सेनाले बेलिबृज जडान सुरु गरेको छ ।
सिन्धुलीको गोलन्जोर–७ र रामेछाप मन्थली–६ बीच रहेको बिपी तथा पुष्पलाल राजमार्ग जोड्ने पक्की पुलको आधा भाग सुनकोशीको बाढीले गत असोज १२ गते बगाएको थियोे ।
पुल बगाएपछि अवरुद्ध राजमार्ग यथाशीघ्र सञ्चालन गर्न सेनाले बेलिबृज जडानको काम थालेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
यही असोज १० देखि १३ गतेसम्म परेको अविरल वर्षापछि आएको बाढीले एक सय मिटर लामो पुलको रामेछापतर्फ आधा भाग बगाएपछि सडक आवागमन अवरुद्ध भएको हो ।
सेनाले सुनकोशी नदीमाथि पुलको आधा अर्थात करिब ५१ मिटर क्षेत्रमा बेलिबृज जडान गर्नेछ । पुल जडान गर्न आवश्यक पर्नेमध्ये ९५ प्रतिशत सामग्रीको व्यवस्थापन भइसकेको बताइएको छ ।
पुल बगाएर सडक अवरुद्ध भएपछि उक्त पुल भएर रामेछाप, सिन्धुली, ओखलढुङ्गालगायत देशका विभिन्न मागमा पुग्ने यात्रुलाई असहज भएको छ ।