काठमाडौं । सहकारीको रकम अपचलन गरेको आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेलाई सात दिन हिरासतमा राखेर अनुुुसन्धान गर्न अदालतले आदेश दिएको छ । बिहीबार न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अनुमति दिएको हो ।
कास्की जिल्ला अदालतले हिरासतमा राखेर अनुसन्धान गर्न गतशुक्रबारदेखि लागू हुनेगरी दिएको ६ दिनको म्याद बुधबार सकिएपछि उनलाई बिहीबार अदालत पेश गरिएको थियो । उनको बयान नसकिएको कारण म्याद थप गर्नु परेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
लामिछानेका तर्फबाट वरिष्ठ अधिवक्ता नारायण घिमिरे, डा नारायण कडेल, रास्वपा सांसदसमेत रहेकी सोविता गौतम लगायतले बहस गरेका थिए । प्रहरीले लामिछानेमाथि सहकारी ठगी र संगठित अपराधमा अनुसन्धान गरिरहेको छ ।
लामिछानेलाई असोज २ गते शुक्रबार जिल्ला अदालत, कास्कीबाट पक्राउ अनुमति लिएर प्रहरीले काठमाडौंस्थित रास्वपाको केन्द्रीय कार्यालयबाट पक्राउ गरेको थियो । अदालतले रविसहित पूर्वडीआइजी छविलाल जोशी र लिला पछाईलाई पनि थप ७ दिन म्याद थपको अनुमति दिएको छ ।