काठमाडौ । नेकपा एमाले गौरीशंकर गाउँपालिकाको उपाध्यक्षका उम्मेदवार उमा लुङ्गेली मगर शेर्पाले काठमाडौबाट घरदैलो कार्यक्रम सुरु गरेकी छिन् । उनले आगामी मंसिर १६ गते हुने उपनिर्वाचनका लागि उम्मेदवार दिएपछि काठमाडौंमा अस्थायी बसोबास गर्ने गौरीशंकरका मतदाताहरुसँग भेटघाट गरी चुनावी अभियान सुरु गरेकी हुन् ।
नेकपा एमालेले आगामी मंसिर १६ गते हुने उपनिर्वाचनका लागि शेर्पालाई उपाध्यक्षका उम्मेदवार घोषणा गरेको थियो । काक्तिक १४ गते बुधबार बसेको गौरीशंकर पार्टी कमिटीका बैठकले उम्मेदवारका आकांक्षीहरु बीच सहमति गराई उमालाई उपाध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेका थिए ।
शेर्पाले भेटघाटका क्रममा दोलखा–काठमाडौ सम्पर्क मञ्चद्धारा आयोजित देउसी भैलो कार्यक्रममा सहभागी भई काठमाडौंमा अरहेका गौरीशंकरका स्थानीय मतदाताहरुसँग भेटघाट गरी औपचारिक चुनावी अभियान सुरु गरेका बताइन् । उनले नेपालीहरुको दोस्रो चाड तिहारसँगै काठमाडौंमा रहेका गौरीशंकरका स्थानीयहरुसँग भेटघाट र घरदैलो गरी तिहारपछि चुनावी क्षेत्र जाने बताईन् ।
आज उनले काठमाडौंमा रहेका गौरीशंकरका मतदाताहरुसँग घरदैलो गर्दै आफुलाई मतदान गरी विजयी गराउन आह्वान गरेकी हुन् । उनले जडिबुटी, पेप्सीकोला, मुलपानी, सुन्दरीजल, साँखु, गोकर्ण, थली, नयाँ बस्ती जोरपाटी लगायतको क्षेत्रमा बसोबास गर्ने गौरीशंकरका स्थानीय मतदाताहरुसंग एवं आफन्तजनसंग पहिलो पटक भेटगरी आफुलाई उपचुनावमा विजयी गराउन अनुरोध गरेकी छिन् ।
पालिकामा उपनिर्वाचनका लागि उम्मदवारी दिएकी शेर्पा गौरीशंकर–७ सिम्पाश्वर मार्बुका उद्यामी एवं समाजसेवि महिला हुन् । उनी लामो समयदेखि विभिन्न सामाजिक संघसंस्थामा आबद्ध भई समाजसेवा र व्यवसायमा संलग्न रहेकी छिन् ।
त्यसैगरी, गौरीशंकर गाउँपालिकाका उपाध्यक्ष श्यामसुन्दर तामाङको हृदयाघातका कारण २०८० साल असार ३१ गते उपचारका क्रममा निधान भएको थियो । उक्त रिक्त रहेको पदका लागि आगामी मंसिर १६ गते उपनिर्वाचन हुन लागेको हो ।