हेटौंडा । बागमती प्रदेश सरकारले सवारी चालक अनुमतिपत्रका लागि ‘डिजिटल लाइसेन्स’ लाई प्राथमिकता दिने भएको छ । यातायात व्यवस्था विभागले समयमै सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को व्यवस्था गर्न नसकेपछि प्रदेश सरकारले नागरिक एपमा रहेको लाइसेन्सलाई नैं मान्यता दिने भएको हो ।
बागमती प्रदेश सरकारको श्रम, रोजगार तथा यातायात मन्त्रालयका सचिाव बलराम निरौलाले नागरिक एपमा देखिने लाइसेन्ससँगै क्यूआर देखिने भएकाले त्यसैलाई मान्यता दिने बताउनुभयो ।
स्मार्ट लाइसेन्सको सिस्टमको कन्ट्रोल यातायात व्यवस्था विभागसँग भएको र प्रिन्ट गर्न प्राविधिक रुपले झन्झटिलो हुनुका साथै समन्वयमा समेत समस्या भएकाले प्रदेश सरकारले नागरिक एपमा रहेको लाइसेन्सलाई नै मान्यता दिने तयारी गरेको सचिव निरौलाले जानकारी दिनुभयो ।
नागरिक एपको क्यूआरलाई ट्राफिक प्रहरीले स्क्यान गर्दा थप विवरण देखिने छ । यस्तो क्यूआर सहितको लाइसेन्स स्वदेश वा विदेशवाट स्क्यान गर्दा सवारी चालकको सवै विवरण देख्न सकिने छ ।
प्रदेशको श्रम मन्त्रालयका अनुसार लाइसेन्सको हार्डकपी भन्दा पनि सफ्टकपीलाई मान्यता दिएर काम गर्ने तयारी भइरहेको छ । यसकालागि नागरिक एप र ट्राफिक प्रहरी कार्यालयसँग समन्वय भइरहेको प्रदेश सचिव निरौलाले बताउनुभयो ।