काठमाडौं । उपत्यकाको फोहरमैला व्यवस्थापन हुँदै सेनेटरी ल्यान्डफिल साइटको निगरानी काठमाडौंबाटै सुरु भएको छ । उपत्यकाको फोहोर व्यवस्थापन ल्यान्डफिल साइट नुवाकोट र धादिङ जिल्लाको सीमाना बञ्चरेडाँडामा गरिदै आएको छ ।
महानगरले संस्थागत सुधारको कार्यक्रममध्ये कार्य सञ्चालन हुने ठाउँका विषयमा जानकारी तथा सूचना लिन सीसीटीभी क्यामरा जडान गरिएको हो । साइटमा प्रवेश गर्ने सवारी साधन तथा व्यक्ति प्रवेशसहितका क्रियाकलापमा निगरानी गरेर सम्भावित अनधिकृत क्रियाकलाप रोक्न क्यामरा जडान गरिएको हो ।
महानगरका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारको कार्य कक्षबाट सो क्षेत्रमा भएको गतिविधि निगरानी हुनेछ । यससँगै वातावरण व्यवस्थापन विभागमा पनि दृश्य हेर्न सकिने बनाइएको छ । ‘स्वचालित प्रणाली बढाएर संस्थागत सुदृढीकरण गर्ने क्रममा ल्यान्डफिल साइटमा अत्याधुनिक सीसीटीभी क्यामरा जडान गरिएको हो’, प्रमुख प्रशासकीय अधिकृत परियारले भने ।
पछिल्लो समयमा जडान गरिएका क्यामरा अटोमेटिक नम्बर प्लेट रिकोग्निजेसन (एएनपीआर) क्यामरा हुन् । सूचना प्रविधि विभागका प्रमुख अनिरुद्र नेपाल भन्छन्, ‘यसबाट भिडियोको आवाज पनि सुन्न सकिन्छ । यसले डिजिटल मात्र होइन, हातैले लेखेका नम्बर प्लेट पनि पढ्न सक्छ । नेपाली अक्षरबाट लेखिएको नम्बर प्लेटसमेत पढ्न र रेकर्ड राख्न सकिने जनाएको छ ।’