काठमाडौं । नेकपा एकीकृत समाजवादी विभाजनको संघारमा पुगेको छ । एमालेबाट विद्रोह गरेर नयाँ पार्टी गठन गरेका माधव नेपालले पार्टीमा आफ्नै गुट सक्रिय पारेपछि पार्टी विभाजनको संघारमा पुगेको हो ।
पार्टीको अभिभावक बन्नुपर्ने अध्यक्ष नै गुट संचालनमा सक्रिय भएपछि पार्टी कमजोर हुने भन्दै पार्टीका प्रभावशाली नेता तथा सांसद असन्तुष्ट बनेका हुन् । दशौं महाधिवेशनबाट अध्यक्षमा माधव नेपाल, सम्मानित नेतामा झलनाथ खनाल र महासचिवमा घनश्याम भुसाल निर्विरोध चयन भए पनि बाँकी पदाधिकारी र पोलिटब्युरो सदस्य चयनका लागि निर्वाचन गरिएको थियो ।
सुरुमा अध्यक्षको तजबिजमा आफू अनुकुल केन्द्रीय सदस्य मनोनयन गरेर उनीहरुमार्फत आफू अनुकुल पदाधिकारी निर्वाचित गरेपछि पार्टीभित्र असन्तुष्टि बढेको छ । पदाधिकारी चयनका लागि भएको चुनावमा पनि अध्यक्षले नै आफू निकटलाई मात्रै भोट हाल्न केन्द्रीय सदस्यहरुलाई निर्देशनात्मक चिट बाँडेपछि पार्टी निर्माणमा सक्रिय र चर्चित अनुहार पराजित भएका थिए।
अध्यक्ष आफैंले पार्टीभित्र गुट बनाउन सक्रिय रहेको भन्दै पार्टीका बहुसंख्यक सांसद र केन्द्रीय सदस्य पार्टीबाट विद्रोह गर्ने तयारीमा छन्। पदाधिकारी र पोलिटब्युरो सदस्य चयनका लागि भएको निर्वाचनबाट अध्यक्ष नेपाल पक्षका नेताहरू निर्वाचित भएका छन् । भदौ १२ गते भएको निर्वाचनको मतगणनाबाट नेपाल पक्षका नेताहरू निर्वाचित भएका हुन् ।
वरिष्ठ उपाध्यक्ष दावी गरिरहेका घनेन्द्र बस्नेत, प्रमेश हमाल र बेदुराम भुषाललाई वरिष्ठ नेता बनाउने सहमतिसँगै राजेन्द्र पाण्डे वरिष्ठ उपाध्यक्षमा निर्विरोध निर्वाचित भएका थिए। तर दावी गरेर पछि सरेका बस्नेत, हमाल र भुसाल माधव नेपाल समूहका नेताहरू हुन्। एकीकृत समाजवादीमा १७ पदाधिकारी र १०५ जना पोलिटब्युरो सदस्य चयनका लागि मतदान भएको थियो।
केन्द्रीय समिति बैठकबाटै पदाधिकारी र पोलिटब्युरो सदस्य सर्वसम्मत चयन गर्ने प्रयास भए पनि त्यो सम्भव नभएपछि निर्वाचन भएको थियो। मतदानमा गुटगत प्रतिस्पर्धा भएको थियो। अध्यक्ष नेपाल पक्षले मतदाता केन्द्रीय सदस्यहरुलाई पदाधिकारीहरूमा जिताउनुपर्ने नेताहरूको नामावली (चिट) बाँडेको थियो।
अध्यक्ष नेपालले पदाधिकारीमा पराजित गराइएका नेताहरु एमालेमा फर्कन प्रयासरत रहेको आरोप लगाउने गरेका छन् । उनले खुला रुपमा यस्तो आरोप नलगाएको भए पनि आफ्नो गुटमा ‘एमालेमा फर्कन खुट्टा उचालिरहेकाहरुलाई पार्टीले बोकिरहन आवश्यक नभएको’ ब्रिफिङ गरेका थिए ।