काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले महारथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरी नेपाली सेनाको प्रधानसेनापतिमा अशोकराज सिग्देल नियुक्त गरेका छन् । सिग्देल प्रधानसेनापतिमा नियुक्त भएसंगै आजै पद तथा गोपनीयताको शपथ ग्रहण गरी कार्यभार सम्हालेका छन् ।
सैनिक परम्परा अनुसार नवनियुक्त प्रधान सेनापति सिग्देललाई जङ्गी अड्डा परिसरमा नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो । त्यसै गरी उहाँले सैनिक मञ्च टुँडिखेल र छाउनी स्थित वीर स्मारकमा श्रद्धान्जली अर्पण गर्नुका साथै जङ्गी अड्डामा कार्यालय बहाली गरी प्रधानसेनापतिको कार्यभार सम्हालेका हुन् ।
वि.सं. २०२३ माघ १९ गते रुपन्देहीमा जन्मिएका प्रधानसेनापति सिग्देल २०४३ सालमा अधिकृत क्याडेटको रूपमा सैनिक सेवामा प्रवेश गरेका थिए । गत श्रावण २५ गतेबाट उनलाई सरकारले कायममुकायम प्रधान सेनापतिको जिम्मेवारी दिएका थिए ।