काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान माहाशाखाले आज र भोलि मुलुकको विभिन्न स्थानमा वर्षाको सम्भवना रहेको जनाएको छ । भारतको उत्तर–पूर्व असाम र आसपासको क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको आंशिक प्रभावले नेपालमा बर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
मौसम शाखाको मौसमविद् गोविन्द झाले कोशी प्रदेशका केही स्थानमा, बागमती तथा गण्डकी प्रदेशको पहाडी भूभागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको जानकारी दिनुभयो । तर अविरल वर्षाको सम्भावना नभएकाले आत्तिहाल्नुपर्ने अवस्था नरहेको मौसमविद् झाले बताए ।
विभागका अनुसार हाल कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ । कोशी प्रदेशको एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा भइरहेको छ ।
महाशाखाका अनुसार आगामी २४ घण्टामा कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ ।
साथै कोशी प्रदेश र बागमती प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेकाले कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पर्ने सम्भावना रहेकोले ती क्षेत्रमा हुनसक्ने गेग्रान बहाव, बाढी, पहिरो, भूक्षयजस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउनुपर्ने माहाशाखाको अनुरोध छ ।