काठमाडौं । सोलुखुम्बुबाट नयाँ रुटमा जिरी–चरिकोट–खाडीचौर हुँदै काठमाडौं जिप सेवा सुरु भएको छ । बुधबारदेखि नयाँ रुट सल्लेरी–लामाजुरा–किन्जा–जिरी–लामसाँगु–खाँडीचौर हुँदै काठमाडौं जिप सेवा सुरु भएको हो ।
सोलुदुधकुण्ड नगरपालिकाको समन्वयमा बुधबार सल्लेरीबाट छुटेका ८ वटै सुमो जिप लामाजुरा–किन्जा–जिरी–लामसाँगु–खाँडीचौर हुँदै राती सफल रुपमा काठमाण्डौँ पुगेको थियो ।
जसका लागि बुधबार पहिलो दिन दुधकोशी, सुपर दुधकोशी, दुधकोशी ज्वालामाई र दुधकुण्ड यातयात समितिले यात्रुसहित जिप सेवा नयाँ रुटमा परिक्षण गरेको दुधकोशी यातयात प्रालिका अध्यक्ष दोर्जी शेर्पाले जानकारी दिनुभयो ।
सल्लेरीबाट छुटेको उक्त जिपहरु कुनै अवरोध विना नै करिब २ सय ८५ किलोमिटरको यात्रा पुरा गर्दै बुधबार बेलुका काठमाडौं पुगेको थियो । सल्लेरी– लामाजुरा – जिरी हुदै काठमाडौं पुग्न जिपलाई करिब १५ घण्टा लागेको यातायात व्यवसायी लाल गुरुङले बताउनुभयो ।
त्यसैगरी, नयाँ रुटबाट सोलुखुम्बु र काठमाडौ दुबै तर्फबाट चरिकोट–जिरी हुदै आउने र जाने जिपहरु निरन्तर चल्न थालेको छ । विपी राजमार्ग पहिरोले अवरुद्ध भएकाले यो रुट उपयुक्त रहेको सोलुदुधकुण्ड नगरपालिका प्रमुख नाम्गेल जाङबु शेर्पाले बताउनुभयो ।