धनगढी । कैलाली कारागारमा भएको झडप जिल्ला प्रशासन कार्यालय र प्रहरीको चरम लापर्वाहीका कारण भएको कैदीका आफन्तको आरोप छ ।
बिहीबार कैलाली कारागारका तीन जना कैदीलाई सरुवा गरेपछि विवाद सुरु भएको थियो । बिहीबार कैदीलाई सरुवा गर्ने क्रममा पनि झडप भएको थियो । सो झडपमा परी तीन जना घाइते हुनुभएको थियो । तर प्रशासन कार्यालयले सो घटना लाई सामान्य रुपमा लगेका कारण शनिबार बिहान ठुलो घटना घटेको आफन्तको आरोपछ । बिहीबारको घटनालाई गम्भिरताका साथ लग्न आफुले प्रशासनसंग आग्रह गरेको कैदीका आफन्त महेश चौधरीले बताउनु भयो ।
चौधरीले बिहीबारको घटना साम्य नभएको भन्दै कारागारमा रहेका आफन्तले गुनासो गरेपछि सोकुरा प्रशासन सम्म जानकारी पनि गराइएको बताउनु भयो । प्रमुख जिल्ला अधिकारी गोगन बहादुर हमाललाई भेट्न खोज्दा समय नदिएको उहाँले बताउनु भयो ।
कारागारमा भएको समस्या बारेमा आफुले अनौपचारिक सेवा केन्द्र (इन्सेक)लाई पनि जानकारी गराएको चौधरीले बताउनु भयो । तर कुनै पनि निकायले चासो नदिंदाको परिणाम शनिबारको घटना घएको उहाँको आरोप छ । प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुख पूर्णरुपमा गैर जिम्मेवार हुँदा घटना घटेको चौधरीको आरोप छ ।
यस विषयमा बुझ्न खोज्दा कैलालीका प्रमुख जिल्ला अधिकारी गोगन हमालले भने प्रतिकृया दिन चाहनु भएन ।
शनिबार बिहान करिव १ बजेतिर भएको झडपमा परेर अन्दाजी ३८ बर्षिय भरत चौधरीको मृत्यु भएको छ, भने कम्तिमा पनि ४७ जना घाइते भएका छन् । घाइते मध्य एक जनाको अवस्था गम्भिर रहेको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताउनु भयो ।