दार्चुला । दार्चुलाको व्याँस गाउँपालिकामा स्यालको टोकाइबाट तीन जना घाइते भएका छन् । आइतबार दिउँसो घर नजिकैको जंगलमा घाँस काट्न गएका बेला स्यालको टोकाइबाट व्याँस गाउँपालिका वडा नं ६ बसेडीका ७० बर्षीय गणेशदत्त भट्ट, ५१ बर्षीय धौली भट्टी र खातीगाउँकी ७५ बर्षीया च्याउलीदेवी भण्डारी घाइते भएका हुन् । घाइते तिनै जनालाई जिल्ला अस्पताल दार्चुलामा सामान्य उपचारपछि थप उपचारका लागि धनगढी लगिएको स्थानीय रमेश भट्टले बताए ।
यसैबीच व्याँस गाउँपालिकाले पालिकाका विभिन्न स्थानमा स्यालको आक्रमण बढ्दै गएकाले सतर्कता अपनाउन आग्रह गरेको छ । गाउँपालिकाको वडा ३, ४, ५ र ६ मा स्यालको आक्रमण बढीरहेकाले नागरिकलाई सुरक्षित रहन गाउँपालिकाले सूचनामार्फत आग्रह गरेको छ । स्यालको टोकाइबाट बच्न रातिको समयमा एक्लै नहिड्न, वनजंगलमा घाँस÷दाउरा जाँदा समूहमा जान, जेष्ठ नागरिक र बालबालिकाको हेरचाहन गर्न आग्रह गरिएको छ । यस्तै रातिको समयमा घरको झ्याल ÷ढोका राम्रोसँग लगाउन समेत गाउँपालिकाले आग्रह गरेको छ ।