काठमाण्डाै । गृहमन्त्री रमेश लेखकले आमाको नामबाट नागरिकता पाउने अधिकार सुनिश्चित गर्न नेपाल नागरिकता ऐनलाई संशोधन गर्न लागिएको बताउनुभएको छ ।
राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिको आजकाे बैठकमा नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयकमाथिको छलफलमा बोल्दै उहाँले बुबाको मृत्यु भएको, जीवित रहँदा पनि नागरिकता प्राप्तिमा सहयोग नगरेमा तथा अर्को विवाह गरेर गएको अवस्थामा सन्तानलाई आमाकै नामबाट नागरिकता दिने व्यवस्था विधेयकमा राखिएको उल्लेख गर्नुभयो ।
आमाको नामबाट नागरिकता दिँदा आमाले स्वघोषणा गरे मात्रै पनि हुने गृहमन्त्री लेखकले बताउनुभयो । उहाँले विदेशमा सन्तान जन्मिने वा गर्भावस्थामा आमा स्वदेश फर्किने तर बुबाको पत्ता नलागेको अवस्थामा आमा र सन्तानको अधिकार सुनिश्चित गर्न आमाको स्वघोषणाको आधारमा अङ्गीकृत नागरिकता दिने व्यवस्था गरिएको बताउनुभयो ।